फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरूलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उहाँको दाबी छ ।






