इलाम । देव वाँस्कोटा, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले व्यक्तिगत रूपमा प्राप्त गरेको रु ५१ हजार पुरस्कार रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले उक्त रकमबाट नयाँ एम्बुलेन्स खरिद र स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्राथमिकता दिने बताउनुभयो । शनिबार सो घोषणा इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं ५, इरौँटार पाखागाउँमा आयोजित विशेष समारोहमा गरिएको थियो ।
जहाँ अध्यक्ष स्याङ्बोलाई गाउँपालिकामै सिर्जनशील कामको मूल्याङ्कन गर्दै सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । अध्यक्ष स्याङ्बोका अनुसार रोङ गाउँपालिकाका दुर्गम बस्तीहरूमा आकस्मिक अवस्थामा बिरामीलाई समयमै अस्पताल पु¥याउने चुनौती रहेको छ ।
यही कारणले स्वास्थ्य सेवामा सुधार र पहुँच विस्तार अपरिहार्य भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य चौकी सुदृढीकरण, आकस्मिक उपचार, प्राथमिक स्वास्थ्य सेवा र जनस्वास्थ्य सचेतना कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर पहल अगाडि बढाइने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा समग्र सुधारका लागि सामूहिक सहयोग र स्थानीय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो । यसअन्तर्गत, एम्बुलेन्स खरिदका साथै स्वास्थ्य सेवा, आपतकालीन उपचार, औषधि आपूर्ति र प्राथमिक स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा लगानी बढाइने बताइएको छ ।
अध्यक्ष स्याङ्बोले पालिकाको समग्र विकास, सामाजिक चेतना अभिवृद्धि र जनउत्तरदायी नेतृत्वमार्फत शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार र सञ्चारका क्षेत्रमा ठोस काम गरिसकेको जानकारी दिनुभयो । यसैक्रममा, रोङ गाउँपालिकाले नेपालमै पहिलोपटक ‘गुरु किसान कार्यक्रम’, अभिभावक शिक्षा र ‘रु १ बचत’ जस्ता नवीन पहलहरूको थालनी गरी किसान सशक्तिकरण, आधुनिक खेती प्रविधि र आर्थिक सचेतना अभिवृद्धिमा अग्रसरता देखाएको अध्यक्ष स्याङ्बोले बताउनुभयो ।
यी पहलहरूले स्वास्थ्य र कृषि दुवै क्षेत्रमा स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।






