स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि आयोगको ‘अर्जुन दृष्टि’, रामप्रसाद भण्डारी


१ फाल्गुन २०८२, शुक्रबार १२:५९ मा प्रकाशित


काठमाडौं । निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 


काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ सम्पन्न भई ढुवानी शुरु भएको र निर्वाचन सामग्रीहरू तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने सुनिश्चितता व्यक्त गर्नुभएको हो ।

निर्वाचन आयोगले आगामी फाल्गुन २१ गतेको निर्वाचनलाई राष्ट्रिय दायित्वका रूपमा लिँदै तयारीका सबै पेचिला चुनौतीहरू पार गरेको बताउनु भयो । उहाँकाअनुसार शुरुवाती दिनहरूमा सामग्री व्यवस्थापनमा केही जटिलता देखिए पनि हाल सबै आवश्यक सामग्रीहरू प्राप्त भइसकेका छन् ।

आयोगले मतपत्र छपाइको कार्य सम्पन्न गरी सम्बन्धित निर्वाचन क्षेत्र र मतदान केन्द्रहरूमा पठाउने प्रक्रिया शुरु गरिसकेको छ । मतदान अधिकृतहरूले तालिम लिएर कार्यक्षेत्रमा खटिनु अगावै सबै सामग्रीहरू उनीहरूको जिम्मामा पुग्ने गरी कार्यतालिका निर्माण गरिएको भण्डारीले बताउनु भयो ।

यसपटकको निर्वाचनमा ऐतिहासिक रूपमा ९ लाख ५० हजार नयाँ मतदाता थपिएका छन् । आयोगले यस ठूलो संख्याको व्यवस्थापन र निर्वाचनको निष्ठा जोगाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने भन्दै सत्य र तथ्यपरक समाचार संप्रेषणमा जोड दिएको छ ।  

छिमेकी मुलुक बंगलादेशको उदाहरण दिँदै उहाँले मुलुकको अनुशासनलाई लयमा ल्याउन र लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन बाहेक अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो । निर्वाचनलाई पवित्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय र सञ्चार क्षेत्रको एकीकृत सहयोगको अपेक्षा आयोगले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here