राप्रपाको सरकारले मात्र देशको रक्षा गर्न सक्छ : अध्यक्ष लिङ्देन


२८ माघ २०८२, मंगलवार २०:२८ मा प्रकाशित

बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देश जलाउने र देश जलाउनबाट रोक्न असक्षम शक्तिहरूलाई परास्त गर्दै राप्रपाको सरकारले मात्र देशको रक्षा गर्न सक्ने दाबी गर्नुभएको छ।

झापा क्षेत्र नं.–२ निर्वाचन क्षेत्र चुनाव परिचालन समितिलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, “देश जलाउने र देश जलाउनबाट रोक्न नसक्ने शक्तिहरू आपसमा एकअर्कालाई निषेध गर्ने राजनीतिमा लागिरहेका छन्। तर देशको भाइचारा, राष्ट्रिय एकता, राजा र हिन्दु राष्ट्रको परिपूरक शक्ति भनेको राप्रपा मात्र हो।”

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाले अप्रत्यासित परिणाम ल्याउने दाबी गर्दै झापा क्षेत्र नं.–२ मा पार्टीका उम्मेदवार स्वागत नेपालको नामले नै सबै दलका उम्मेदवारमा त्रास पैदा भएको टिप्पणी गर्नुभयो।

“हामीले धेरै अनुरोध गरेर स्वागत नेपाललाई झापा–२ बाट उम्मेदवार बनाएका हौँ,” उहाँले भन्नुभयो, “उहाँ हार्नु हुँदैन। उहाँ हारे भने देशले हार्छ।”

अघिल्लो निर्वाचनमा स्वागत नेपाल निवर्तमान सभामुखभन्दा करिब दुई हजार मतले मात्र पछि परेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यसपटक जनसमर्थन अझ बलियो रहेको दाबी गर्नुभयो।

कार्यक्रममा राप्रपाका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरू र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here