समृद्ध नेपाल निर्माणका लागि विकास, सामाजिक न्याय र राष्ट्रिय एकता अपरिहार्यः अध्यक्ष ओली


२८ माघ २०८२, मंगलवार १०:२० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चौतर्फी विकासका लागि भौतिक पूर्वाधारको निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य र सुदृढ राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिनुभएको छ । 


झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टीले शुरु गरेका विकासका आयोजनाहरूले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको दाबी गर्नुभयो । समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले आफू २६–२७ सालदेखि नै यस क्षेत्रको विकासमा जोडिएको स्मरण गर्दै झापाको परिवर्तन आफ्नै आँखाले देखेको बताउनु भयो । उहाँले विगतमा उपहास गरिएका हुलाकी राजमार्ग र ठूला पुलहरू आज यथार्थमा परिणत भएको बताउनु भयो ।

विकासका कामहरू ठेकेदार वा इन्जिनियरको त्रुटिका कारण केही ठाउँमा रोकिएको भएपनि ती सबै समस्या समाधान गरिने उहाँको भनाइ छ । उहाँले गरिबी र पछौटेपनलाई संस्कृति मानेर बस्न नहुने भन्दै गुइँठा र दाउराको सट्टा बिजुली र स्वदेशी ग्यासको प्रयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उहाँले समाजमा रहेको बोक्सी प्रथा जस्ता कुप्रथालाई वैज्ञानिक चेतनाले चिर्नुपर्ने बताउनु भयो ।

उहाँले शिक्षा नै विकासको आधार भएकोले हरेक जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पु¥याउन अभिभावकहरूलाई आग्रह गर्नुभयो । राजनीतिक रूपमा उहाँले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय साख जोगिने र विकासले गति लिने दाबी गर्नुभयो । 

उहाँले भ्रमको राजनीति गर्नेहरूबाट सचेत रहन र जातिवाद भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here