काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा नलिन आम मतदातालाई आग्रह गर्नुभएको छ ।
काठमाडौंमा आयोजित जिल्लाका उम्मेदवारहरूको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले गम्भीर संकटमा रहेको र निर्वाचनले देशको भविष्य तय गर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले राप्रपाले शुरुदेखि नै राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ सम्झौता हुनुपर्ने माग राख्दै आएको स्मरण गराउनु भयो ।
सिंहदरबार जलाउन उक्साउने र जोगाउन नसक्ने तत्वहरू अहिले अतिवादतर्फ उन्मुख भएको भन्दै लिङदेनले चिन्ता व्यक्त गर्नुभयो । यदि संसद्मा राप्रपा जस्तो सुस्पष्ट विचार भएको शक्ति कमजोर भयो भने देश झन् ठूलो दुर्घटनातर्फ जाने निश्चित रहेको बताउनु भयो । उहाँले देशलाई थप द्वन्द्वमा जान नदिन र स्थिरता कायम गर्न राप्रपालाई जिताउनु अनिवार्य रहेको बताउनु भयो ।
पाँच वर्षभित्र विदेश जानु नपर्ने वातावरण बनाउने प्रतिवद्धता
राप्रपाले केवल राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा मात्र बोकेको नभई विकासको स्पष्ट मार्गचित्र पनि राखेको लिङदेनको दाबी छ ।






