नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा दुवै पक्षबीच नेपाल र श्रीलंका बीचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिनुहुँदै उहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हाल्नुभएको छ ।
उहाँले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक तथा बंगलादेशमा उप–उच्चायुक्तको रूपमा कार्य गर्नुभएको थियो । यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।






