समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल


१७ माघ २०८२, शुक्रबार १६:२१ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । 


शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गर्नुभयो । पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्नुहुँदै उहाँले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताउनु भयो ।

चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उहाँको भनाइ छ । संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गर्नुभयो । हाल देश जेन—जी आन्दोलनपछि जटिल अवस्थामा रहेको उहाँको भनाई छ ।

राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको बताउनु भयो । उहाँले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुम पूर्ववाट उम्मेद्वार बनेको बताउनु भयो । रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुमपूर्व रोजेको उहाँको भनाई छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here