बुद्धशान्ति । झापाको बुद्धशान्ति -७ स्थित राष्ट्रिय विजय माध्यमिक विद्यालयले ६६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।
दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालयस्तरीय तथा अन्तरविद्यालय खेलकुद प्रतियोगिता र विभिन्न विधागत प्रतिस्पर्धा सञ्चालन गरि सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
दोस्रो दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद तिम्सिनाको अध्यक्षता तथा बुद्धशान्ति–७ का वडाध्यक्ष चन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा सदस्यहरू शस्ट कुमार राई, खगेन्द्र गड्तौला, डिकुरा अर्याल घिमिरे लगायतको विशेष आतिथ्य रहेको थियो। वार्षिकोत्सवको अवसरमा विद्यालयले वर्षभरि गरेका गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्दै उत्साह र उत्सवका साथ कार्यक्रम आयोजना गरेको थियो।

सोही अवसरमा पूर्व शिक्षक, अभिभावक तथा दाताहरूको सहयोगमा स्थापना गरिएका एक दर्जनभन्दा बढी छात्रवृत्ति तथा अक्षयकोषहरूबाट विद्यार्थी र शिक्षकहरू सम्मान गरेको थियो ।
शिक्षक स्मृति तथा पुनर्मिलन अक्षयकोष, गङ्गा–प्र. हेममाया स्मृति, शिवभक्त–मैनकुमारी स्मृति, पदमकुमारी–सीताराम अक्षयकोष, टिकादेवी–नेत्रप्रसाद स्मृति, जयप्रसाद–विष्णुमाया स्मृति, हरिलाल आचार्य स्मृति, भवानी खतिवडा स्मृति, तेजबहादुर–पदमकुमारी–बालकुमारी तथा नर्वदा आचार्य स्मृति अक्षयकोष लगायत रहेका छन्।
अक्षयकोषमार्फत विद्यार्थीहरूलाई नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो। यसै अवसरमा गत एसईई परीक्षामा उत्कृष्ट ग्रेड हासिल गर्ने विद्यार्थी, नेपाली र लेखा विषयमा उत्कृष्ट प्रदर्शन गर्ने दुई/दुई जना विद्यार्थी, साथै विद्यालयले सञ्चालन गरेको देउसी–भैलो कार्यक्रममा ५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमकै क्रममा विद्यालयले खरिद गरेको ४० लाख रुपैयाँ मूल्य बराबरको विद्यार्थी बोक्ने मिनी बसको उद्घाटन समेत गरिएको थियो। प्रमुख अतिथि चन्द्र भण्डारीले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयका लागि अधिकतम बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो।

विद्यालयले सोही कार्यक्रमको अवसरमा विद्यालयमा ५० हजार काे अक्षय वुवा कर्ण प्रसाद खतिवडा र आमा जानुका खतिवडा र ससुरा जय प्रसाद ढुङ्गाना र सासू विस्नु माया ढुङ्गानाकाे नाममा गिता ढुङ्गानको परिवारद्वारा थप अक्षयकोषको स्थापना गरेको छ ।
त्यस्तै राष्ट्रिय विजय माध्यमिक विद्यालयमा अध्ययनरत गरि तथा जेहेन्दार विद्यार्थिलाई मध्यनजर गर्दै विद्यालय सदन पोसाक खरित गर्न जोएन्ट हेन्डस क्लबले
नगद,२० हजार रूपयाँ विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा पूर्व अध्यक्षहरू धन कुमार लावती, पूर्व प्रधानाध्यापक गीता ढुङ्गाना लगायतले विद्यालयको शैक्षिक तथा सामाजिक योगदानबारे मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन पूर्व प्रधानाध्यापक शिवप्रसाद पौडेलले गर्नुभएको थियो भने प्रधानाध्यापक छत्रबहादुर कार्की ले आर्थिक प्रतिवेदनसहित स्वागत मन्तव्य राख्नुभएको थियो।
औपचारिक कार्यक्रमसँगै विद्यार्थीहरूले विविध सांस्कृतिक, संगीत तथा नृत्य प्रस्तुतिहरू मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
कार्यक्रममा पूर्व अध्यक्ष, पूर्व शिक्षक, पूर्व विद्यार्थी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो






