झापा । वीरता जेसीजको ४५औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा वर्ष २०२६ का लागि निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।
समारोहमा अध्यक्ष कुँवरले आफ्नो कार्यकालको जिम्मेवारी हस्तान्तरण गर्दै अध्यक्षीय चेन सन् २०२६ का अध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसी) को गलामा पहिर्याएका थिए । पानसमा दीप प्रज्वलन तथा जेसीआईका संस्थापक हेनरी गेसनवियरको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बसन्त ढकालले जेसीज आस्था वाचन गरेका थिए भने जुनियर रेश्मा चिमरियाले जेसीआईको मिसन तथा भिजन प्रस्तुत गरेकी थिइन् । संयोजक जेसी अमरजित शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पत्रकार भण्डारी र बाँस्तोलालाई उत्कृष्ट पत्रकारिता पुरस्कार समारोहमा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२५ संयुक्त रूपमा प्रदान गरिएको छ । पुरस्कार पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारी र बिर्तामोड झापा डटकमका सञ्चालक टीकाराम बाँस्तोला लाई प्रदान गरिएको हो ।
पत्रकार भण्डारी प्रदेशखबर डटकममा स्थापना कालदेखि नै आवद्ध रहँदै आएका छन् । उनी इमेज टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) मा समेत कार्यरत रहेर पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । लामो समयदेखि निरन्तर पत्रकारिता कर्ममा संलग्न भण्डारीको योगदानको कदर गर्दै वीरता जेसीजले उक्त सम्मान प्रदान गरेको हो ।
त्यस्तै, स्थानीय पत्रकारितामार्फत सूचना प्रवाहमा सक्रिय भूमिका खेलेका सञ्चालक बाँस्तोलाको योगदानलाई समेत सम्मान गरिएको जेसीजले जनाएको छ ।
समारोहमा दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघ–संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । पुरस्कार संस्थापक बसन्त रिमालले घोषणा तथा वितरण गरेका थिए ।
त्यसैगरी स्व. दिलिपकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार–२०२५ सिनेटर जेसी घनश्याम चौधरी (अध्यक्ष–२०२३) लाई प्रदान गरिएको थियो ।
जेसीज अभियानमा दीर्घकालीन योगदान पु¥याउँदै वीरता जेसीजलाई राष्ट्रियस्तरमा उत्कृष्ट शाखाका रूपमा चिनाउन भूमिका खेलेको भन्दै वीरता जेसीज सन् २०१८ का अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार एकराज गिरी लाई विशेष सम्मान प्रदान गरिएको थियो ।
गिरी नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादकसमेत हुन् । कार्यक्रममा प्रमुख अतिथि जीवन कार्की, संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत, पूर्व अध्यक्ष एवं संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले शुभकामना मन्तव्य राख्दै जेसीज अभियानले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेका थिए ।






