‘एसियन हाइवे’ निर्माण : दुई वर्षमा ३५ प्रतिशत प्रगति


१४ माघ २०८२, मंगलवार ११:१७ मा प्रकाशित

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यसहित निर्माण सुरु गरिएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको सडकखण्डमा दुई वर्षमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ।

आयोजनाअन्तर्गत झापाको पाडाजुगीदेखि पश्चिमतर्फ पहिलो चरणको एक लेन कालोपत्र आइतबारदेखि सुरु भएको पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए। उनका अनुसार निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ।

एसियन राजमार्ग नम्बर–२ अन्तर्गत पर्ने काँकरभिट्टा–लौकही १२० किलोमिटर सडक स्तरोन्नतिको योजना रहे पनि हाल ९५ दशमलव ७६ किलोमिटर सडकमा मात्र ठेक्का लागेर काम भइरहेको छ। आयोजनालाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर निर्माण भइरहेको छ।

हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सम्पन्न भइसकेको छ। आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ।

निर्माण सामग्री सहज रूपमा उपलब्ध भएमा आयोजनाको कामले थप गति लिने पन्तले बताए। उनका अनुसार पूर्वी खण्डमा विद्युत्का खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको छ भने पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र सम्पन्न भएको छ। बजार क्षेत्रमा खम्बा सार्ने काम अझै बाँकी रहेको आयोजनाले जनाएको छ।

आयोजना कार्यालयका अनुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकरभिट्टाबाट पूर्व–पश्चिम राजमार्गमार्फत भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरु गरिएको हो। यो आयोजनामा करिब ३० करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ।

सडक निर्माण बजार, जङ्गल र ग्रामीण क्षेत्र गरी तीन वर्गमा विभाजन गरिएको छ। बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here