निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त


२८ पुष २०८२, सोमबार १३:४९ मा प्रकाशित


निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ ।


आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताउनुभएको हो । निर्वाचनमा शान्ति सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो ।

उहाँले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताउनु भयो । विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुनेगरेको उल्लेख गर्नुहुँदै उहाँले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने बताउनु भयो ।

निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो । सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिएकोले यस विषयमा अब शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

उहाँले विगतमा पनि निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको स्मरण गर्नुभयो । अहिले त्यस्तो गम्भीर खतरा आयोगले महशुस नगरेको उहाँको भनाई छ । 

उहाँले निर्वाचनको व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको पनि जानकारी दिनुभयो । हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष तहको गरी ३ किसिमका निर्वाचनमा आयोग एकसाथ लागेको उहाँको भनाई छ । उहाँले समानुपातिकतर्फ सोमबार उम्मेद्वारहरुले नाम फिर्ता दिने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । उहाँले द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here