काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताउनुभएको छ ।
उहाँले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गर्नुभएको हो । आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली काँग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताउनु भयो ।
उहाँले काँग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताउनु भयो । नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताउनु भयो ।






