काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शिर्षकमा १० हजार मात्रै छुट्टाएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातले विशेष भुमिका खेलेपनि तत्कालिन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई अनुदान दिन आफूहरुले नसकिरहेको बताउनु भयो ।
उहाँले जनताले भोट दिएर जिताएकाहरुले राम्रोसँग काम नगरिदिँदा यस्ता समस्या देखापरेकाले आगामी दिनमा सक्षम मान्छेलाई मात्रै जिताएर सांसद्मा पठाउन आग्रह गर्नुभयो ।
मन्त्री सिन्हाले नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि तयार गर्न लागिएको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताउनु भयो । उहाँले मेक इन नेपाल, मेड इन नेपालजस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।
सिन्हाकाअनुसार गुणस्तर परिक्षणका लागि प्रयोगशालाको स्तरोन्नती गर्ने काम भइरहेको छ । गुणस्तर विभाग जलेका कारणले शुन्यबाट काम शुरु गर्नुपर्ने अवस्थाले गर्दा पनि केही चुनौति थपिएको सिन्हाले बताउनु भयो ।






