भानु माध्यमिक विद्यालयको ६६ औँ बार्षिकोत्सव तथा ६७ औँ स्थापना दिवस सम्पन्न


२० पुष २०८२, आईतवार २१:३२ मा प्रकाशित

झापा । झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयले आफ्नो ६६ औँ बार्षिकोत्सव तथा ६७ औँ स्थापना दिवस भव्यतापूर्वक सम्पन्न गरेको छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्काको अध्यक्षतामा र अर्जुनधारा नगरपालिकाकी नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको प्रारम्भिक चरणमा विद्यालयका प्रधानाध्यापक रुपक दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उपलब्धि, भौतिक संरचना सुधार, विद्यार्थीहरूको प्राविधिक तथा सांस्कृतिक गतिविधिहरूको समिक्षा प्रस्तुत गरे।

उनले विद्यालयका संस्थापकहरू स्व. अमरबहादुर खड्का, स्व. ज्ञानुराम भट्टराई, महेन्द्र भण्डारी, भीमबहादुर खड्का लगायतको योगदान र विद्यालयको विकास यात्रामा उनीहरूले खेलेको महत्वपूर्ण भूमिका स्मरण गरे।

कार्यक्रमको विशेष आकर्षणमा दिर्घसेवा शिक्षकहरूको सम्मान रहेको थियो। विद्यालयबाट अवकाश प्राप्त शिक्षक भीमप्रसाद उप्रेती र सीतादेवी खनाल, सरुवा भएर जाने प्रेमप्रसाद उप्रेती र युवराज निरौलालाई सम्मानसहित विदाई गरिएको थियो।

यसै अवसरमा शैक्षिक सत्र २०८२ का एसईई उत्कृष्ट विद्यार्थी सागर कार्की र अनुज्ञा खतिवडालाई देवी तुलसा खड्का स्मृति अक्षयकोषबाट नगद नौ हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो। त्यस्तै, विद्यालयका विभिन्न कक्षा र संकायका उत्कृष्ट विद्यार्थीहरूलाई विद्यार्थीवृत्ति र दाताहरूबाट प्रदान गरिएको पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, पिट्टी, साहित्यिक रचना प्रस्तुत गरेका थिए भने प्राविधिक धारका विद्यार्थीहरूले प्रोजेक्ट प्रदर्शनमार्फत आफ्नो क्षमता र सिर्जनशीलता प्रस्तुत गरेका थिए। विद्यालयकी बालक्लव अध्यक्ष स्वस्तिका खड्काले स्वागत मन्तव्य दिएकी थिइन् भने प्राविधिक धारकी विद्यार्थी एलिना निरौलाले प्राविधिक शिक्षाको महत्वबारे अनुभवसहित मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक जीवन पोखरेलले गरेका थिए। कार्यक्रमले विद्यालय समुदायमा शिक्षाको महत्व, विद्यार्थी प्रतिभाको प्रोत्साहन र संस्थागत गौरवको अनुभूति प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here