काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराउनुभएको हो ।
उहाँकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा शुरु हुँदैछ ।
जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ । महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताउनु भयो । लाखौँको संख्यामा नेता, कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताउनु भयो ।
असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताउनु भयो ।
महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताउनु भयो । बिहीवार बसेको बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पनन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताउनु भयो ।






