एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा


२६ मंसिर २०८२, बिहीबार १३:३३ मा प्रकाशित


काठमाडौं । अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । 


स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् ।

स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रमा उहाँले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रमा बढेको बताउनु भयो ।  काफ्लेकाअनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ ।

कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बिमाले नै निर्णय भुमिका खेल्ने समेत बताउनु भयो । उहाँकाअनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरु भइरहेको छन् ।

धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उहाँले बताउनु भयो । 

स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न कठिन भइरहेको सरोकारवालाहरुले बताउनु भयो । धुलिखेल अस्पतालका डाक्टर बलाराम मल्लले स्वास्थ्य बीमामार्फत प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय गराउन बोर्ड लाग्नुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार गुणस्तरीय सेवा दिन नसके बिमित निराश बन्नुपर्ने अवस्था आउने र स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसक्ने बताउनु भयो । उहाँले स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा पनि समस्या हुने गरेको बताउनु भयो । 

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा बोर्ड परनिर्भर बन्दा पनि कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउनु भयो । उहाँकाअनुसार वार्षिक पौने ४ अर्ब प्रिमियर बोर्डले उठाइरहेको छ तर १४ अर्ब अस्पतालहरुलाई तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष १० अर्ब स्वास्थ्य बीमाले तिर्दै जाँदा धान्नसक्ने स्थिति नरहेको बताउनु भयो । 

उहाँकाअनुसार नेपालमा स्वास्थ्य सबैको पहुँचमा हुनुपर्छ । पहुँच विस्तारका लागि आवश्यक जनशक्ति हुन जरुरी छ भने स्वास्थ्य संस्थाहरुको पहुँच पनि विस्तार हुनुपर्छ । अहिले ६० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरु शहरी क्षेत्रमा स्वास्थ्य संस्थाहरु छन् ।

बाँकी १५–२० प्रतिशत स्वास्थ्य संस्थाहरु ग्रामिण क्षेत्रमा छन् । ग्रामिण भेगमा ६०–६५ प्रतिशत जनता छ । त्यहाँ अस्पतालको पहुँच नहुँदा शहरी क्षेत्रका स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिनुपर्ने बाध्यता रहेको डाक्टर श्रेष्ठले बताउनु भयो ।

स्वास्थ्य सेवा वितरणमा अहिले एकदमै असमानता रहेको उहाँको भनाइ रहेको छ । श्रेष्ठकाअनुसार स्वास्थ्य विमाको प्रथम सेवा बिन्दुलाई स्थानीय तहसँग समन्वय गरेर विस्तार गर्नुपर्छ । प्रथम सेवा बिन्दुबाटै धेरै कुराहरु त्यही समाधान होस् भन्ने हिसावले राखिएको समेत उहाँले बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here