काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार सुशासनको माग राखि भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार भएको बताउनु भयो । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तिब्र गतिमा काम गरिरहेको उहाँको दाबी छ ।
जेन–जी का माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ने भएपनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताउनु भयो । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको बताउनु भयो । यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्षरुपमा धम्की दिएको बताउनु भयो ।
उहाँले आफूहरु कसैको धम्कीबाट नडराउने भन्दै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न निर्देशन दिनुभयो ।






