स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेद औषधिको अनुसन्धान र उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपालका हिमाली तथा उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन सोच रहेको उहाँले प्रस्ट पार्नुभयो ।
फार्मा एक्स्पोमा उपस्थित विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्दै मन्त्री गौतमले एलोपेथिक (आधुनिक) औषधिको उत्पादन मध्य र पूर्वी नेपालमा केन्द्रित रहेकाले अब आयुर्वेदलाई पश्चिम नेपालमा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
यसो गर्न सकेमा देशको सन्तुलित विकास हुने र नेपाललाई आवश्यक पर्ने सबै प्रकारका औषधिहरू स्वदेशमै उत्पादन हुने उहाँको भनाइ छ ।
नेपालको आयुर्वेद, भेटेरिनरी र श्रृङ्गार प्रसाधनका क्षेत्रमा पनि राम्रो सम्भावना रहेको भन्दै मन्त्री गौतमले यस क्षेत्रका उद्योगीहरूलाई अनुसन्धानमा लगानी बढाउन र स्थानीय कच्चा पदार्थको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । सबैले एउटै दृष्टिकोण बनाएर काम गरेमा नेपाल छिट्टै औषधि र जडीबुटीको क्षेत्रमा विश्वमै चिनिने उहाँले विश्वास व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल






