‘खादा र टिका लगाएर रातारात नेता बन्ने प्रवृत्तिले राजनीति सस्तो र विकृत बन्यो’: पम्फा भुसाल


२८ फाल्गुन २०८२, बिहीबार १६:५४ मा प्रकाशित


नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले राजनीति अत्यन्तै सस्तो र विकृत बन्दै गएको बताउनुभएको छ । 


मोतीदेवी स्मृति केन्द्रको कार्यक्रममा बोल्दै नेतृ भुसालले यस्तो बताउनुभएको हो । उहाँले विगतका राजनीतिक आन्दोलनहरूमा नेता तथा कार्यकर्ताले गरेको कठोर त्याग, तपस्या र जेलनेलको स्मरण गर्दै अहिले बिना कुनै संघर्ष ‘खादा र टिका’ को भरमा पद र अवसर प्राप्त गर्ने होडबाजी चलेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

उहाँले त्यागको ठाउँमा सस्तो लोकप्रियता र अवसरवाद हाबी हुनु नेपाली राजनीतिको ठूलो विडम्बना भएको बताउनु भयो । आन्दोलनमा रगत पसिना बगाएका, कितावमा नाम नलेखिएका र मञ्चमा उपस्थित गराउन नसकिएका हजारौँ योद्धाहरू ओझेलमा परेको तर संघर्ष नै नगरेकाहरूले राजनीति गरिरहेको बताउनु भयो ।

न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र राजनीतिमा महिलाहरूको बढ्दो उपस्थितिले केही आशा जगाए पनि राजनीतिमा भित्रिएको ‘सस्तो अवसरवाद’ ले समग्र आन्दोलनको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गर्नुभयो । 

उहाँले ‘सस्तो अवसरवाद’ लाई सच्याएर अगाडि बढ्नुपर्ने चुनौती रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here