सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आत्मदाह प्रयास गरेका झापाका एक पुरुषको उपचारका क्रममा जनकपुरमा मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–२ निवासी ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन्।
प्रहरीका अनुसार गएसाँझ करिब ७ः४० बजे उनले उक्त स्थानमा आफैं शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए। स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली राति ८ः०० बजे घटनास्थल पुगेर आगोले गम्भीर रूपमा जलेका घाइते पोखरेललाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पुर्याएको थियो। आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो।
सामान्य उपचारपछि राति करिब ९ः०० बजे थप उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो। तर, उपचारकै क्रममा बुधबार राति २ः१० बजे उनको मृत्यु भएको हो।
प्रहरीले मोबाइलमार्फत उनको भान्जासँग सम्पर्क गरेर मृतकको पहिचान गरेको थियो। प्रहरी स्रोतले मृतकका आफन्तहरू घटनास्थलतर्फ आईरहेको जनाएको छ।






