बिर्तामोड । विश्व विजय गर्ने गोर्खाली सैनिक र समुदायको बलिदान र वीरतालाई समर्पित ‘वीर गोर्खाली’ गीतको बिमोचन लण्डनमा सम्पन्न भएको छ ।
गीतकार तथा समाजसेवी कमला बोहरा खत्रीले विशेष कार्यक्रमको आयोजना गर्दै आफ्नो सिर्जना प्रस्तुत गरेकी छन् । झापाको बिर्तामोड घर भएकी उनी हाल लामो समयदेखि बेलायतस्थित कोल्चेस्टरमा बस्दै आउनु भएकी छिन ।

उनले गीतमार्फत गोर्खाली सैनिकका आशु, पसिना, रगत र परिश्रमका कथाहरू शब्दमा उतारेकी छन् । गीतमा गायक राजेश पायल राईको स्वर रहेको छ भने संगीत संगीतकार बीबी अनुरागीले दिएका छन्। कार्यक्रम कोल्चेस्टर नेपाली समाजका अध्यक्ष मेजर रिटायर्ड उदयबहादुर गुरुङ एमबीईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित पाहुनाहरुलाई गीतको म्युजिक भिडियो पनि देखाइएको थियो, जसमा भूपू गोर्खाहरूको बलिदान र सम्मान प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। भिडियोको छायांकन खगेन्द्र जंग हमालले गरेका हुन् ।
गीतकार कमला बोहोराले आफ्नो सिर्जना बिमोचन गर्न पाउँदा खुशी व्यक्त गर्दै समाज, दर्शक र शुभचिन्तकहरू प्रति धन्यवाद ज्ञापन गरेकी छन्। गीत कमला बोहरा नामक आफ्नो युट्युब च्यानलमा पनि अपलोड गरिएको छ ।
यस गीतको मिक्सिङ र मास्टरिङ स्यामश्वेत रसाइलीले गरेका हुन्। कमला बोहरा खत्री एक्स क्यूओजीएलआर परिवारकी सदस्य तथा कोल्चेस्टर नेपाली समाजमा लामो समयदेखि लेडिज कोर्डिनेटरको भूमिकामा सक्रिय रहँदै आएकी छन् । ‘वीर गोर्खाली’ गीतले भूपू गोर्खाहरूको बलिदान र वीरताको स्मरण गर्दै, समुदायमा गर्व र प्रेरणा जगाउने उद्देश्य राखेको छ ।






