विवाह पञ्चमी महोत्सवको तेस्रो दिन : आज ‘धनुष यज्ञ’


७ मंसिर २०८२, शनिबार १०:३४ मा प्रकाशित

जनकपुर । जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।

आज बेलुका चार बजेदेखि बाह्रबिघा मैदानमा धनुष यज्ञ मनाइने छ। धनुष यज्ञ मनाउन बाह्रबिघामा मञ्च बनाइएको छ। त्यही मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाइने जानकी मन्दिरका पुजारी ऋषिकेश दासले जानकारी दिए।

त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताबीच विवाह भएको थियो। त्यसकै सम्झनामा रामजानकी विवाह महोत्सव सुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ।

अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन्।

सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन बिहीबार साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ गराइएको थियो। दोस्रो दिन विवाह मण्डपको बंगैचामा फूलबारी लीला दर्शन गराइएको थियो।

चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौं दिन अर्थात् मंसिर ९ गते मा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि १० गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका पुजारी ऋषिकेश दासले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here