काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पैसा उठायो भनेकोप्रति कार्यालयले आपत्ति जनाएको छ । कार्यालयले विज्ञप्ती जारी गर्दै वचत तथा ऋण मिलान कार्यमा शुल्कका रुपमा मिलान रकमको दश प्रतिशित सम्बन्धित सहकारीको बैंक खातामा दाखिला गराउने गरिएको प्रष्ट पारेको हो ।
उक्त रकम विशुद्ध रुपमा मिलान नभएका वचतकर्ताको वचत रकम फिर्ताका लागि प्रयोग गर्ने गरिएको कार्यालयले जनाएको छ । वचत फिर्ता बाहेक उक्त रकम अन्य कार्यमा खर्च भएको छैन र भविष्यमा पनि गरिने कार्यालयले बताएको छ ।
तेस्रो पक्षको जग्गा मिलानबाट हालसम्म कुनै पनि ऋण वा दायित्व फरफारक भएको कार्यालयले जनाएको छ । कार्यालयले करीब ६ वर्षको अवधिमा रु. ८३ करोड ६५ लाख २० हजार ८ सय ७४ बचत फिर्ता गरेको र आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म जम्मा ३६८९ जना मागदावीकर्ताको सम्पूर्ण रकम मागदावी फरफारक गरिएको कार्यालयको भनाई छ ।
‘विभिन्न सहकारीका ५६१०६ पहिलो चरणमा मागदावी गर्नु भएका वचतकर्ताहरुलाई रु.३५ करोड ८२ लाख ८ हजार १ सय २८ आंशिक रुपमा फिर्ता गर्ने प्रकृया चलिरहेको छ’ कार्यालयले भनेको छ, ‘भने यो अवधिम जम्मा रु.३ अरब २९ करोड ८४ हजार ७८० वचत रकम मिलान तथा दामासाहिले हुन आउने रकम बैंक मार्फत नगद वितरण गरिएको छ ।’
सञ्चालक, व्यवस्थापक तथा लेखा समितिका सबै सदस्यको चल अचल सम्पत्ति रोक्का गरिनुका साथै, ऋण तिर्न बाँकी ११ हजार ऋणीको समेत बैंक खाता तथा चल अचल सम्पत्ति रोक्का गरिएको कार्यालयले जानकारी गराएको छ । बाँकी ऋणीको समेत बैङ्क खाता तथा सम्पती रोक्का राख्ने प्रकृयालाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ ।






