काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पुँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
महासचिव पोखरेलले पश्चिमा पुँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान तयार पारेको बताउनु भयो । पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरुलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेन–जी आन्दोलन भएको उहाँको भनाई छ ।
उहाँले युवाहरुको माग अनुचित नभएपनि तत्कालिन सरकारसमक्ष मागलाई आउनै नदिएको बताउनु भयो । जेनजी आन्दोलनको नेतृत्वकर्ता समेत नभएको भन्नुहुँदै उहाँले सरकारले वातासंवाद गर्ने अवसर नै नपाएको दाबी गर्नुभयो ।
उहाँले सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालिन सरकार चुकेको बताउनु भयो । नवयुवाको सूचना प्रविधिमा भएको लगाव र सरकारको नियमनसम्बन्धी तालमेल नमिलेको स्वीकार गर्नुभयो । सोही कमजोरीको लाभ गलत तत्वले उठाएको उहाँको भनाई ।
पुँजीवादी शक्तिहरुले युवाहरुलाई लागुऔषध र प्रविधिको लतमा फसाएर आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको दाबी गर्नुभयो ।






