एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण हुन्छ– नेता खनाल


१८ कार्तिक २०८२, सोमबार ११:१४ मा प्रकाशित


काठमाडौं । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राख्नुभएको छ ।

एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उहाँको ठहर छ । माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग निकटता सम्भव रहेको संकेत गर्नुभयो । राष्ट्रिय संकटको निकास निर्वाचन होइन, संसद पुनःस्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन रहेको उहाँले बताउनु भयो । प्रमुख पार्टी नेतृत्व यो कार्यकालमा फेल भएको ठहर गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।
एमाले फर्कने शर्तः समाजवादी क्रान्तिको प्रतिवद्धता
खनालले एमालेसँग एकताको ढोका खुला रहेको बताउनु भयो । तर यसका लागि स्पष्ट वैचारिक शर्तहरू राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, “एमाले फर्कन तयार छौं, तर समाजवादी क्रान्तिको बाटो अवलम्वन गर्नुपर्छ ।

जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रुपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौं ।”
उहाँले चार आधारभुत शर्तहरू प्रश्ताव गर्नुभएको छ । जसलाई वार्ताको आधार बनाउन सकिने उल्लेख गर्नुभयो ।
“यी चार बुँदामा एकरूपता भयो भने हामी वार्ता शुरु गर्छौं,” उहाँले जोड दिनुभयो  ।
खनालले एमालेसँग एकताकालागि अगाडी सारेका शर्तहरु

एमालेप्रतिको माया र आलोचनाः सुस्थिर चिन्तनको अभाव
नेता खनालले एमालेलाई आफ्नो जीवनको वैचारिक सन्तानका रूपमा बताउनु भयो । “एकाले शुरुमा हामीले बनाएको त्यही पार्टी हो । हामीलाई त्यो पार्टीप्रति माया, ममता अहिले पनि छ,” उहाँले भावुक हुँदै भन्नुभयो । तर यो माया अन्धभक्ति होइन । उहाँ थप्नुहुन्छ, “यदि त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरूलाई सच्याउँछ र वैचारिक धरातलमा सही विचारमा फर्किन्छ भने, हामी पुनः एकताबद्ध भएर जान सक्छौं ।”
तर उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । “एमाले भित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौं । तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,” उहाँले भन्नुभयो । खनालको आलोचना पार्टीको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित छ । उहाँ एमालेलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके सबै नेता कार्यकर्ता पार्टीमा समाहित हुन सहज बन्ने बताउनु भयो ।
नयाँ पार्टीको तयारी र वाम पुनर्गठन
एमालेसँग एकता नभए पनि खनाल नयाँ बाटोमा अघि बढ्न तयार हुनुहुन्छ । “हामी नयाँ ढंगले पुनर्गठित हुँदैछौं। नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,” उहाँले भन्नुभयो। हालैको एक भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “त्यसबाट नयाँ पार्टी, घोषणा पत्र, कार्यक्रम र विधान तयार पार्ने सोच सुरु गरेका छौं ।”
यो पुनर्गठन केवल समाजवादी पार्टीमा सीमित छैन । उहाँले माओवादी केन्द्रभित्र पनि पुनर्गठनको भावना देखिएको बताउनु भयो । “जो अहिले माओवादीभित्र पनि विभिन्न समूहहरूको स्थिति देखापरिरहेको छ, र उनीहरू पनि पुनर्गठनको प्रयत्न गरिरहेका छन् । यदि छलफल गर्दा एकरूपता देखियो भने, उनीहरूसँग निकटता स्वाभाविक हुन्छ ।” तर यी चार आधारभुत कुरामा मेल भएन भने न व्यक्तिगत, न समूहगत एकताको अर्थ रहँदैन ।” नेता खनालले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय संकट र समाधानः संवैधानिक बाटोबाट
देशको वर्तमान राजनीतिक संकटबारे नेता खनाल व्यावहारिक दृष्टिकोण राख्नभयो । “मुलुकमा विद्यमान संकट समाधानका लागि निर्वाचन पहिलो विकल्प होइन । मुलुकलाई संवैधानिक बाटोबाट अघि बढाउनका लागि निर्वाचन नभए संसद पुनःस्थापनाको बाटो उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो। उहाँले सडक आन्दोलनभन्दा संवैधानिक प्रक्रियाबाट निकाश खोज्नुपर्ने बताउनुभयो । “राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन गरेर राष्ट्रिय सहमति बनाएर मुलुकलाई अघि बढाउनुपर्छ।” उहाँको तर्क छ ।
उहाँले प्रमुख पार्टीहरूका नेतृत्वलाई असफल ठह¥याउँदै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बताउनु भयो । “मेजर पार्टीहरूका नेतृत्वले यो कार्यकाल परीक्षण गरेर हेर्दा फेल खाए । यी चार नेताभन्दा तलका नेताहरू सक्षम छन्, भिजनयुक्त छन् । उनीहरूलाई नेतृत्व दिने हो भने ती पार्टीहरू पुनः गतिशील बन्छन् ।” यसमा उहाँले युवा पुस्तालाई राजनीतिमा आउन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनमा भाग लिनका लागि जेन–जी पुस्ताले पनि दल गठन गरेर आउनुपर्छ।”
वैचारिक विचलनको उपचार र नेपाली समाजवाद
खनालले एमालेमा वैचारिक विचलन भएको स्वीकार गर्दै त्यसको उपचार आवश्यक रहेको बताउनु भयो । “एमाले भित्र विभिन्न राजनीतिक, वैचारिक, सैद्धान्तिक, संगठनात्मक सवालमा उत्पन्न भएका गलत चिन्तन, विचार, प्रवृत्तिहरु छन् । त्यो कुरा पार्टीले सच्याउनु पर्छ,” उहाँले भन्नुभयो। उहाँको लागि यो आत्मसमीक्षाको विषय हो ।
उहाँले “नेपाली विशेषताको समाजवादी कार्यक्रम”लाई जोड दिनुभयो, जसमा राज्य नियन्त्रणभन्दा समान अवसर, उत्पादनमा न्याय र वितरणमा सामाजिक उत्तरदायित्व हुन्छ । “देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने” कुरालाई आर्थिक निर्भरताविरुद्धको संघर्षका रूपमा व्याख्या गर्नुभयो । खनालको दृष्टिमा, क्रान्ति संवैधानिक दायराभित्रै सम्भव छ । “वर्तमान संविधान अनुसार नै मुलुकलाई निकास दिनुको विकल्प छैन,” उहाँले निष्कर्ष निकाल्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here