हामीले सत्ता सञ्चालन गर्न जानेनौँ, स्वार्थी भयौँः चन्द्र भण्डारी


१३ कार्तिक २०८२, बुधबार १८:३२ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले नेपाली काँग्रेसले सत्ता सञ्चालन गर्न नजानेको बताउनुभएको छ ।


विपी चिन्तन प्रतिष्ठानद्वारा बुधवार काडमाडौमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस नेपाली जनतालाई मौलिक अधिकार दिलाउन तथा प्रजातान्त्रिक आन्दोलनमा सधैँ सफल भएपनि सत्ता सञ्चालन गर्ने विषयमा भने चुकेको बताउनु भयो ।

सत्ता सञ्चालन गर्ने बेलामा स्वार्थी र लोभी बनेको उहाँको आरोप छ । मुलुक, प्रजातन्त्र र पार्टीभन्दा व्यक्ति बलियो बन्ने प्रवृत्तिले नै अहिलेको समस्या रहेको उहाँको भनाई छ । यो समस्या समाधान नगरिकन व्यक्ति परिवर्तन भएपनि प्रवृत्ति परिवर्तन नहुने उहाँले बताउनु भयो ।

उहाँले प्रवृत्ति परिवर्तन नभईकन मुलुक, प्रजातन्त्र र पार्टी पनि बलियो नहुने उल्लेख गर्नुभयो । सुशासन र पारदर्शी कायम गर्न नसक्दा जेनजी विद्रोह भएको उहाँको भनाई छ । युवाहरुको मागलाई साथ दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले विपी कोईरालाले युवालाई साथ नदिदाँ देशमा सांस्कृतिक क्रान्ति हुने र त्यसलाई थाम्न नसक्ने बताउनुभएको पनि स्मरण गर्नुभयो । उहाँले २०३३ सालमा देश शंकटमा रहेको बेलामा विपी कोईराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको उल्लेख गर्नुभयो ।

उहाँले हाल एक अर्कालाई दोषारोपण गरेर बस्ने बेला नभएको बताउनु भयो । राष्ट्रलाई अफ्ठ्यारो परेको बेला सबै कुरा गौण हुने उहाँको भनाई छ । 

उहाँले देशमा नकरात्मकता बढी फैलिएको कारण विद्रोह भएको बताउनु भयो । उहाँले नेपालीहरुलाई विभिन्न नाममा लडाउने गरिएको उल्लेख गर्नुभयो । सोहीअनुसार हाल उमेरको नाममा लडाउन खोजिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here