काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गर्नुभएको छ ।
बुधवार बिहान पत्नी राधिका शाक्यसहित अध्यक्ष ओलीले आवासको निरीक्षण गर्नुभएको हो । निजी निवास निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा लुटापाटको घ्टना नेपालविरुद्धको योजनावद्ध षड्यन्त्र भएको टिप्पणी गर्नुभयो ।
उहाँले यो घटना असोज २३ गतेको मात्र नभई पहिलेदेखिको एमालेमाथिको योजनाबद्ध तार्गेटिङको परिणाम भएको दाबी पनि गर्नुभयो । उहाँले आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट र चोरीको घटनाप्रति गम्भीर शंका व्यक्त गर्दै पीडितमाथि सरकारले सहानुभूति व्यक्त गर्नुको सट्टा दुस्मनी साँधिरहेको आरोप पनि लगाउनुभयो । उहाँले निवासबाट चोरिएका सामानहरूको विवरण दिँदै आश्चर्य व्यक्त गर्नुभयो ।
उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विद्यार्थीहरूले सुरु गरेको सकारात्मक अभियानको फाइदा उठाउँदै अपराधिक समूहहरुले फाइदा उठाएको जिकिर गर्नुभयो ।
उहाँले जेन–जी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको भूमिका समेत शंकास्पद रहेको आरोप लगाउनु भयो । उहाँले टोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्ने नभई पीडितहरुलाई नै दुःख दिने काम सरकारले गरिरहेको उहाँको आरोप छ ।
उहाँले पत्नी शाक्यले तीन दशकबढी बैंकमा काम गरेर आर्जन गरेको सम्पतीबाट बनाइएको उक्त घरलाई राष्ट्रको नाममा दिइसकिएको पनि बताउनु भयो ।






