काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का पूर्वअध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरूबीचको असमानता र सामाजिक सुरक्षाको कमजोरीले महिला श्रमिकहरुको जीवन थप कष्टकर बन्दै गएको बताउनुभएको छ ।
मंगलवार जेटियुसीसी महिला समितिद्वारा काठमाडौंमा आयोजित ‘जलवायु परिवर्तनको कारण महिलामा पर्ने प्रभाव, न्यायोचित रुपान्तरण र लैंगिक सवालहरु’ विषयक महिला सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जलवायु परिवर्तनको कारणले अनौपचारिक क्षेत्रका श्रमिकहरु सबैभन्दा धेरै प्रभावित भएको उहाँको भनाइ छ ।
श्रमिक समूहहरुमा समेत महिला श्रमिक निकै कमजोर अवस्था रहेको उल्लेख गर्दै महिला सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको कारण नेपालमा मात्रै नभई संसारभर रोजगारी प्रभावित भएको र श्रमिकहरुले न्यूनतम ज्यालासमेत पाउने अवस्था नरहेको भन्दै चिन्ता व्यक्त समेत गर्नुभयो । श्रमिकहरुको सामाजिक सुरक्षामा पहुँच तथा समान ज्याला दिलाउनको लागि सबै सरोकारवाला निकायहरुले सरकारमाथि दबाब बढाउनुपर्ने उहाँको भनाइ छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले महिला सशक्तिकरणका लागि ट्रेड युनियनहरूमा महिलाको अनिवार्य प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले जनसंख्याको आधारमा महिलाहरूको प्रतिनिधित्व बढाउनुपर्ने बताउँदै महिलाहरूले आफ्नो अधिकारको लागि आफैं अग्रसर हुनुपर्ने बताउनु भयो । जलवायु परिवर्तनको असरबाट प्रभावितहरुको माग विश्वजगतमा बताउन कोपमा सहभागि भएकै कारण टे«ड युनियनहरुले देश बिगारे भन्ने हल्ला चलाइएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो ।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले समेत महिला अधिकार र समान ज्यालको सुनिश्चिता गर्नुपर्ने माग राखेका छन् ।






