पन्ध्रौं ‘साउती’ हास्य–व्यङ्ग्य कविगोष्ठी झापामा सम्पन्न


२६ आश्विन २०८२, आईतवार ११:४७ मा प्रकाशित

बिर्तामोड  नेपाल–भारतको साझा सांस्कृतिक अभियान ‘साउती’ द्वारा आयोजना गरिएको पन्ध्रौं साउती हास्य–व्यङ्ग्य कविगोष्ठी शनिबार बिर्तामोडस्थित साहित्य चौतारी झापाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता कवि तुलसी भट्टराईले गर्नुभएको थियो भने प्रमुख आतिथ्यका रूपमा डाक्टर तुलसी भट्टराई उपस्थित रहनुभएको थियो । कार्यक्रमको सुरुवातमा आयोजक तथा प्रायोजकको तर्फबाट साहित्य चौतारी बिर्तामोडका प्रमुख संस्थापक–संरक्षक एवं अध्यक्ष देवीभक्त श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमकै विशेष आकर्षणका रूपमा ‘साउती–१५’ शीर्षकमा प्रकाशित हास्य–व्यङ्ग्य कविता सङ्कलनको सामूहिक विमोचन दर्शक तथा श्रोता हातबाट सम्पन्न गरिएको थियो । उक्त कृतिको समीक्षा प्रमुख अतिथि डा. तुलसी भट्टराईले गर्नुभएको थियो ।

भारतको सिलगढीबाट सम्पादित र प्रकाशित हुँदै आएको साउतीको यस पन्ध्रौं श्रृङ्खलामा नेपाल र भारतका गरी १२ जना कविहरूका हास्य–व्यङ्ग्य कविताहरू समावेश छन् ।

कार्यक्रममा सहभागी १० जना कविहरूले वाचन गरेका उत्कृष्ट कविताहरूलाई प्रत्यक्ष श्रोता मूल्याङ्कनको आधारमा नगदसहित पुरस्कृत गरिएको साउतीका संयोजक, सम्पादक, सङ्कलक तथा प्रकाशक मुक्तिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पुरस्कृत कविहरू यसप्रकार छन् —

  1. लक्ष्मण गाम्नागे (काठमाडौं) – “त्यता नहेर्नू, यता हेर्नू” — प्रथम
  2. उषा शर्मा (गान्तोक, सिक्किम) – “बुढ्यौली व्यथा” — द्वितीय
  3. दीपक दवाडी (तेजपुर, आसाम) – “लोग्ने” — तृतीय
  4. कोमलप्रसाद पोखरेल (झापा) – “सक्तैन यो कोमल” — चतुर्थ
  5. महिम आचार्य (तेजपुर, आसाम) – “भाग्यमानीको फराकिलो निधार” — पंचम
  6. रत्न लक्सम सुब्बा (गान्तोक, सिक्किम) – “बोको र बेहुलो” — षष्ठ
  7. खगेन्द्र नेउपाने (झापा) – “ल्याथ्रो साँढे” — सप्तम
  8. ललिता जोशी छेत्री (सिलगढी) – “मगन्ते” — अष्टम
  9. देवीचरण भण्डारी (झापा) – “झोलेचम्चे हैन” — नवौं
  10. विनोद खनाल (झापा) – पाँच मुक्तक — दशौं

सर्वश्रेष्ठ कविहरूलाई प्रमाणपत्र, उपहार र नगद पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सात उत्कृष्ट श्रोतालाई पनि विशेष सम्मान गरिएको थियो । त्यस अवसरमा सुरुङ्गाका प्रख्यात कवि कोमलप्रसाद पोखरेललाई ‘साउती विशेष सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रमको बीचमा भारतकी चर्चित गायिका जुनु गौतमले कवि जीवन अधिकारीको शब्द–सङ्गीतमा आधारित गीत प्रस्तुत गर्दै सभाहललाई उत्सवमय बनाइदिएकी थिइन् ।

साहित्यिक सन्देश बोकेको उक्त कार्यक्रममा कुबेर दाहाल र चन्द्रप्रकाश गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सम्पादकीय मन्तव्य मुक्तिप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ललिता जोशीले आकर्षक ढङ्गले गरेकी थिइन् ।

सन् २०१० तिर भारतको सिलगढीबाट कवि मुक्तिप्रसाद उपाध्यायको पहलमा साउती हास्य–व्यङ्ग्य अभियानको थालनी गरिएको थियो । नेपाली भाषा, साहित्य र हास्यव्यङ्ग्य विधाको प्रचार–प्रसारका लागि स्थापना गरिएको यस अभियानले अहिलेसम्म भारत र नेपालको विभिन्न सहरहरूमा १५ श्रृङ्खलासम्मका कविगोष्ठीहरू सम्पन्न गरिसकेको छ — जसमा सिक्किम, आसाम, दार्जिलिङ, झापा, इलाम, विराटनगर, काठमाडौं लगायतका सहरहरू प्रमुख हुन् ।

साउतीका कार्यक्रमहरूमा दुवै देशका कविहरूको साझा सहभागिता रहँदै आएको छ, जसले नेपाली भाषाको क्षेत्रीय एकता र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here