बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले ६१औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गर्न लागिएको विशेष कार्यक्रम स्थगन गरेको छ।
जेन्जी युवा पुस्ताको आन्दोलनमा राज्यको बर्बर दमनका कारण कलिला बालबालिकाको असामयिक मृत्यु भएको दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै कार्यक्रम स्थगन गरिएको हो।
साहित्य चौतारी बिर्तामोड झापा शाखाका संरक्षक एवं अध्यक्ष देवीभक्त श्रेष्ठले बालबालिकाको बर्बर हत्या भएको क्षणलाई स्मरण गर्दै संस्थाले पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
उहाँले परिवर्तनको हरेक कालखण्डमा द्वन्द्वका घटना हुने भए पनि यसपटकको घटना आपराधिक र अक्षम्य भएको बताउनुभयो।
यसअघि तय गरिएको कार्यतालिकाअनुसार राष्ट्रिय बाल दिवसका दिन विभिन्न संगीत विद्यालयका बालबालिकामध्ये रियालिटी शोमा विजेता बनेकालाई “उत्कृष्ट बाल प्रतिभा पुरस्कार” प्रदान गर्ने, साथै पितृपक्ष १६ श्राद्धको अवसरमा संस्थामा विगतमा ओहोदामा रहेर दिवंगत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा दिवंगत पितृहरूको धर्मपत्नीलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो।
(भदौ २९ गते) नेपाल फिल्म सोसाइटी कोशी प्रदेश परिवार तथा साहित्य चौतारी नेपालको संयुक्त आयोजनामा शोकसभाको आयोजना गरिएको थियो।
सो कार्यक्रममा साहित्य चौतारी झापाका उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, महासचिव सौरभ श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्बाङग, कोषाध्यक्ष चित्रा पौडेल, सदस्य मनिसा भट्टराई,सहसचिव जीना अधिकारी, प्रेस सल्लाहकार भरत प्रसाईलगायतका पदाधिकारी तथा कर्मचारी हिकोला कम्पनी परिवार, हिमालयन टुर एण्ड ट्राभल्स, अनुपमा परिवार लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।
एक मिनेट मौन धारण गरी सुरु गरिएको कार्यक्रममा सहजीकरण सहसचिव जीना अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा साहित्य चौतारी झापा नेपालका संस्थापक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको जन्मदिन पनि मनाइएको थियो।
उपस्थित कार्यसमिति, परिवार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले खादामाला लगाई उहाँलाई शुभकामना प्रदान गरेका थिए। भावविबल हुँदै अध्यक्ष श्रेष्ठले बालबालिकाको लासबीच राजनीति नगर्न आग्रह गर्दै अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो।
उहाँले अब नेताहरू सुध्रिनु जरुरी रहेको समेत स्पष्ट पार्नुभयो। साथै, स्थगित भएको ६१औँ राष्ट्रिय बाल दिवस विशेष कार्यक्रम यही असोज ४ गते शनिबार पूर्वनिर्धारित समयमा आयोजना गरिने जानकारी दिनुभयो।






