काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ ।
जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकतावद्ध भई अगाडि बढ्नुपर्ने उनीहरुको धारणा छ ।
एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताउनु भयो । उहाँले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्नसक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले तत्कालका लागि मुलुकको संकट टरेको भएपनि भविष्यमा आउनसक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उहाँको भनाइ छ ।
अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक संकेत संकेत भएको बताउनु भयो । उहाँले युवाहरुको क्रान्तीको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताउनु भयो । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरिसक्नुभएको छ । साथै फागुन २१ गते बिहीवारका दिन नयाँ प्रतिनिधि सभा चुनावको मिति तोकिएको छ ।






