आमेरिकाको नगर पालिकामा नेपालीको नेतृत्व


२० भाद्र २०८२, शुक्रबार १९:०६ मा प्रकाशित

टिकाराम नेति, नेपाल टेक्सास, अमेरिका । नेपालका नागरिक विदेश जाने मुख्य कारण रोजगारी र आर्थिक आवश्यकता मात्रै होइन भन्ने प्रमाण अमेरिका बसेका नेपालीले बारम्बार देखाइरहेका छन्। विश्वकै शक्तिशाली मुलुक अमेरिकाको टेक्सास राज्यअन्तर्गतको यूलेस नगरपालिकामा नेपाली टिका पौडेल उप मेयर बन्न सफल भएका छन्। उनले स्थानीय चुनावमा ७० हजार नागरिकको मत पाएर यो जिम्मेवारी पाएका हुन्।

उप मेयर पौडेलले वार्षिक झण्डै ४३ खर्व ७३ अर्ब रुपैयाँ बराबरको नगर विकास बजेट अनुमोदन गर्ने अधिकार राख्छन्। सोही बजेट परिचालनका लागि ६५० जना सरकारी कर्मचारी परिचालन हुने गर्छ। यो जिम्मेवारी पाएको कुरा सुन्दा नै अचम्म लाग्न सक्छ।

चितवनमा प्राध्यापन क्षेत्रमा सक्रिय रहेका पौडेल सन २००७ मा अमेरिका पुगेका थिए। प्रारम्भदेखि नै सामाजिक सेवामा सक्रिय उनी पछि उद्यमी तथा व्यवसायीको रुपमा परिचित बने। करिब १० वर्षसम्म आवासीय क्षेत्र (HOA) का अध्यक्ष रहँदै उनले नेतृत्व क्षमता प्रदर्शन गरे। त्यसपछि २०२१ मा यूलेस नगरपालिकाको काउन्सिल सदस्यमा निर्वाचित भए र पछिल्लो चुनावमा उनी सात काउन्सिल सदस्यहरूमध्ये निर्विरोध निर्वाचित भएका थिए।

पौडेल भन्छन् – “म कानुनी रुपमा यूलेसको मात्र उप मेयर भए पनि अमेरिका भरिका दुई लाख पचास हजारभन्दा बढी नेपालीभाषीको माया पाएको छु।” उल्लेखनीय कुरा के छ भने यूलेस नगरपालिकाका ७० हजार मतदातामध्ये केवल करिब २५ जना मात्र नेपालीभाषी छन्।

उनका अनुसार नगरपालिकाले घरधुरी कर, बिक्री कर, इजाजत कर तथा जग्गा बिक्रीबाट उठेको राजस्व आफैं संकलन गरी योजनाबद्ध रूपमा खर्च गर्छ। पौडेल भन्छन् – “यहाँ सिस्टमले काम गर्छ, मानोमानी हुन्न। पद ठूलो सानो जे भए पनि योजनाको तर्जुमा गर्दा सबैको मत बराबरी हुन्छ।”

नेपालमा मेयर वा उप मेयरसँग भेट्दा तत्काल लाभ खोज्ने प्रचलनबारे सोध्दा उनले हाँस्दै भने – “शायद चुनावमा खर्च गरेको उठाउँछन् होला! तर यहाँ हामीले सरकारसमक्ष खाएको शपथअनुसार मात्र काम गर्छौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here