काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्नेगरी अघि बढ्न सरकार सहकारी ऐन परिवर्तन गर्न तयार रहेको बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाजको आयोजनामा बिहीवार भएको संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा कति सहकारीहरु सञ्चालन भइरहेका छन्, कति सहकारी के उद्देश्यले सञ्चालन भएका हुन् भन्नेबारेमा यकिन तथ्यांक नरहेको जिकिर गर्नुभयो ।
उहाँले दर्ता भएका कतिपय सहकारीहरुको नाम निशान नै नरहेको पनि बताउनु भयो । त्यसलाई नियमन र नियन्त्रण गर्न सरकारले अहिले वचतको सीमा राखेको, ऋणको सीमा राखेको बताउनु भयो ।
सहकारीमा बेथिति आएकाले केही समय नियन्त्रण गर्नुपर्छ भनेरै सरकार लागेको बताउनु भयो । सहकारी ठिक ठाउँमा आएपछि सहकारी खुला गर्न सकिने बताउनु भयो । आवश्यकताअनुसारको विधि बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री अधिकारीले अफ्ठ्यारा कुरालाई फुकाउँदै जानुपर्ने अहिलेको आवश्यकता भएको पनि उल्लेख गर्नुभयो ।






