कालिका सामुदायिक वनको नयाँ नेतृत्व भदौ २१ मा चयन हुने


१७ भाद्र २०८२, मंगलवार १८:५५ मा प्रकाशित

मेचीनगर । मेचीनगर–११ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन आगामी भदौ २१ गते हुने भएको छ। निर्वाचन समितिले सर्वपक्षीय भेलामार्फत कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाएको हो।

निर्वाचन समितिका संयोजक सन्तोषकुमार मेचेका अनुसार निर्वाचन समितिको कार्यालय वडा नं–११ को कार्यालयमा स्थापना गरी सम्पूर्ण कार्य अघि बढाइएको छ। त्यस्तै समितिका सचिव टंककुमार रिजालले दलगत सहमति र सुझावलाई समेट्दै निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गरिने प्रतिबद्धता जनाए।

यसैबीच, नेकपा एमालेको तर्फबाट ‘लोकतान्त्रिक प्रगतिशील प्यानल’ गठन गरी उम्मेदवारी घोषणा गरिएको छ। सो प्यानलमा अध्यक्षमा खेमराज राई, उपाध्यक्षमा सृष्टि मेचे, सचिवमा खगमाया शिवाकोटी, सहसचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा सन्दिप तिम्सिना (भोले बाबा) , लेखा संयोजकमा भवानी शंकर पौडेल, महिला सदस्यमा कल्पना बिष्ट र इन्दिरा पौडेल तथा खुला सदस्यमा इन्द्रकुमार खतिवडा र मानबहादुर बानियाँको उम्मेदवारी रहेको नेकपा एमाले मेचीनगर नगर कमिटीका सचिव सागर ओलीले जानकारी दिनुभयो।

प्यानलले सामुदायिक वनको संरक्षण, समवर्द्धन र उपभोक्ताको समुचित हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाउँदै उपभोक्ताहरूलाई लोकतान्त्रिक प्रगतिशील प्यानललाई मतदान गर्न आह्वान गरेको छ।

भदौ २१ गते हुने निर्वाचनमा अध्यक्षसहित १५ सदस्यीय कार्यसमिति र पाँच सदस्यीय लेखा समिति चयन गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here