टिकाराम नेति नेपाल, टेक्सास, अमेरिका । स्टुडेन्ट भिसामा अमेरिका पढ्न आएका नेपाली विद्यार्थीमध्ये सात जना मानसिक सन्तुलन गुमाएर अस्पतालमा उपचाररत रहेका छन् भने थप सात जनालाई नेपाल फर्काइएको छ।
टेक्सासको डल्लस–फोर्टवर्थ (DFW) क्षेत्रमा सडकमा बेवारिसे अवस्थामा भेटिएका १४ जना विद्यार्थीलाई नेपाली समाज टेक्सास (NST) ले उद्धार गरेको जानकारी दिएको छ।
समाजका अनुसार उज्ज्वल भविष्यको खोजीमा अमेरिका पुगेका केही नेपाली विद्यार्थीहरूको अवस्था निकै दुःखद र नाजुक बन्दै गएको छ।
युवा तथा विद्यार्थी संयोजक प्रविस श्रेष्ठका अनुसार, “हामीले सडकमा भेटिएका सात विद्यार्थीलाई टिकट काटेर नेपाल फर्काएका छौं भने सात जनाको मानसिक सन्तुलन गुमेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।”
श्रेष्ठका अनुसार, धेरै विद्यार्थीहरू अध्ययनसँगै कामको चाप, कलेज ट्रान्सफरमा देखिने कठिनाइ र रोजगारी पाउने चुनौती समाधान गर्न नसक्दा मानसिक रोगको शिकार भएका छन्। “१२ कक्षा सकेर आएका विद्यार्थीहरूलाई यहाँको व्यवहारिक पक्षबारे थोरै मात्र जानकारी हुने भएकाले उनीहरू ठूलो कठिनाइमा पर्छन्,” उनले बताए।
उनले थपे, “अमेरिकामा पढाइ सजिलो हुन्छ भन्ने भ्रममा अनेक सपना बोकेर आएका विद्यार्थीहरू अपेक्षित वातावरण नपाउँदा निराश भई मानसिक असन्तुलनको अवस्थामा पुगेका छन्। सोचेजस्तो छैन यहाँको जीवनशैली। सरकारका नयाँ नियम र नीतिले अझै विद्यार्थीहरूलाई दबाबमा पारेको छ।”
युलेस सिटीका उपमेयर टिकाराम पौडेलले पनि नेपाली विद्यार्थीहरू मानसिक उपचारमा रहेको पुष्टि गरेका छन्। तर, बिरामी विद्यार्थीहरूको व्यक्तिगत विवरण भने गोप्य राखिएको उनले स्पष्ट पारेका छन्।
विशेषज्ञहरूले भने, विदेशमा पढ्न आउने विद्यार्थीहरूले शैक्षिक तयारी मात्र नभई मानसिक तयारी, सामाजिक सीप र आर्थिक व्यवस्थापनमा समेत सक्षम हुनुपर्नेमा जोड दिएका छन्।
शैक्षिक वर्ष २०२५ को पहिलो तीन महिनामा मात्र १ हजार ४९५ नेपालीले F-1 विद्यार्थी भिसा प्राप्त गरेका छन्। यसमध्ये ७१२ जना अक्टोबरमा, १६७ जना नोभेम्बरमा र ६१६ जना डिसेम्बरमा अमेरिका प्रवेश गरेका थिए।
अमेरिकी SEVIS प्रणालीअनुसार अहिले अमेरिका भित्र १६,९३३ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। तीमध्ये १०,७३० जना पुरुष र ६,५०३ जना महिला विद्यार्थी छन्। यो संख्या जनवरी २०२४ मा २०,१५३ थियो भने मार्च २०२४ मा २३,४३५ सम्म पुगेको भए पनि हाल केही घटेको देखिन्छ।





