अर्जुनधारा । श्री छठ युवा फ्रन्टको आयोजनामा श्रावणी पर्वको आयोजनामा निशुल्क महा प्रसाद वितरण कार्यक्रम प्रसिद्ध धार्मिक स्थल श्री अर्जुनधारा जलेश्वर धाममा सम्पन्न गरेको छ ।
विशुद्व परोपकारी भावनाले स्थापाना गरिएको यस संस्थाले विभिन्न समय यस किसिमका भण्डारा कार्यक्रमको आयोजना गर्दै आएको छ ।
साउन महिनाको तेस्रो सोमबारको अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल श्री अर्जुनधारा जलेश्वर धाममा सोमबार श्रद्धालु भक्तजनहरूलाई सेवा भावले निशुल्क भोजन गराउदै समाजिक रुपमा श्री छठ युवा फ्रन्टले प्रेरणापरक काम गरेको छ ।
श्री छठ युवा फ्रन्ट बिर्तामोडद्वारा मन्दिरमा पूजा गर्न आएका सम्पूर्ण भक्तजनहरूलाई निःशुल्क महाप्रसाद वितरण गरेका भन्दै दमकबाट आउनुभएकी निर्मला भट्टराईले पुण्यकोफल श्री छठ युवा फ्रन्टका युवाहरुलाई मिल्ने बताउनुभयो ।
उहाँले सेवा भावले गरिएको कार्य अत्यन्तै सम्मानीय, समाजका लागि प्रेरणादायी हुने बताउनुभयो । लामो समयसम्म बसेर पूजाआजा गर्ने भक्तजनहरूलाई ध्यानमा राख्दै फ्रन्टले शुद्ध, सात्विक भोजनको व्यवस्था गरेको हो ।
छठ युवा फ्रन्टका पदाधिकारीहरूका अनुसार “धार्मिक कार्यमा सहकार्य गर्ने हाम्रो नियमित अभियान अन्तर्गत यसवर्ष पनि साउन सोमबारको अवसरमा महाप्रसाद वितरण गरिएको जानकारी दिएका छन् ।
विगत ६ बर्षदेखी निरन्तर महाप्रसाद वितरण गरिएको कार्यवाहक अध्यक्ष अभिषेक श्रापले बताउनु भयो । कार्यक्रममा निर्वमान अध्यक्ष दिपक शाह, महासचिव सञ्जय शाह , उपाध्यक्ष दिपचन्द शाह, रजत शाह, चन्दन शाह, कोषाध्यक्ष विजय सोडी, सदस्यहरु जगदिश शाह ,सुरज दास, शंकर शर्मा,अर्जुन शाहनी, अजय शाह,राजु रौनियार साथै छठ महिला मञ्च तथा छठ सेवा समाजका प्रतिनिधीहरुले सेवा भावले भक्तजनमा प्रसाद वितरण गरेका थिए ।
श्री छठ युवा फ्रन्टले करीव ४ हजार भक्तजनहरुलाई सात्विक भोजनको ग्रहण गराएको कार्यक्रमका संयोजक उज्वल कुमार शाहले बताउनु भयो ।
मन्दिर व्यवस्थापन समितिका अनुसार आजको दिन करिब ५ हजारभन्दा बढी श्रद्धालुहरूको आगमन भएको अनुमान गरिएको छ । भक्तजनहरूको सहजताको लागि मन्दिर परिसरमा खानेपानी, प्राथमिक उपचार, लाइन व्यवस्थापन, र सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको थियो ।
स्थानीय बासिन्दाका अनुसार यसवर्ष भक्तजनको चाप अघिल्ला वर्षको तुलनामा बढी देखिएको छ । अर्जुनधारा क्षेत्रको व्यापार, पर्यटन र धार्मिक महत्व बढ्दै गएको जनाइएको छ ।
अर्जुनधारा नगरपालिका, ट्राफिक प्रहरी, नेपाल प्रहरीको सक्रियतामा भीड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, र पार्किङ सुविधा सहज बनाइएको थियो । मन्दिर परिसरमा स्वच्छता र अनुशासन कायम राख्न स्वयंसेवकहरूले विशेष भूमिका निभाएका थिए ।






