काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गर्नुभएको छ ।
आईतवार सामूदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गर्नुभएको हो ।
उहाँले नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराउनु भयो । त्यस्ता सस्थालाई संस्थाको रोजगारी, लगानी, हिसावकिताव सबै प्राधिकरणको जिम्मा लगाउन उहाँको सुझाव छ ।
कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासंघलाई आग्रह गर्नुभयो । त्यसको लागि ठूलो परियोजनामा लगानी गर्न पनि उहाँको आग्रह छ । नेपाल विद्युत उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आवद्ध छन् ।






