कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै


४ श्रावण २०८२, शनिबार १३:०३ मा प्रकाशित



काठमाडौं । कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ ।


ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ । शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताउनु भयो ।

प्रविधिको प्रयोगबाटै चोरी, ठगी लगायका गतिविधि हुने गरेको भन्दै प्रहरी महानिरीक्षक थापाले प्रविधिको प्रयोग गरेर हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई प्रविधिमै सक्षम बनाउनुपर्ने बताउनु भयो ।


महानिरीक्षक थापाले साइबर अपराध नियन्त्रण गर्न विभिन्न दातृ निकायको सहयोग लिने गरिएको पनि स्पष्ट पार्नुभयो । खासगरी इन्टरपोलको सहायता उल्लेखनीय रहेको थापाको भनाई थियो । उहाँले अपराध अनुसन्धानमा खटिने प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताउनु भयो । 


कोरिया सरकारको एकसय करोड रुपैयाँ सहयोगमा निर्माण भइरहेको साइबर ब्युरोले साइबरमा खटिने जनशक्तिलाई बल पुग्ने महानिरीक्षक थापाले स्पष्ट पार्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here