मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद भारतमा पक्राउ, स्वदेश फर्काइयो


१८ श्रावण २०७६, शनिबार १५:५४ मा प्रकाशित

माले । अवैध बाटोबाट भारत प्रवेश गरेका मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पक्राउ गरी उनलाई स्वदेश फर्काइएको भारतीय अधिकारीले जनाएका छन् ।

गत बिहीबार अवैध तरिकाबाट डुङ्गामार्फत् दक्षिण भारतका टुथुकुडी शहर प्रवेश गरेका उनलाई शुक्रबार पक्राउ गरी मालदिभ्स फर्काइएको हो । राजनीतिक शरणका लागि उनी भारत प्रवेश गरेको भएपनि भारत सरकारले भने शरण दिन अस्वीकार गरेको थियो । उनी बिहीबार सिङ्गापुरको ध्वजावाहक डुङ्गामार्फत् अवैध तरिकाले भारत प्रवेश गरेका थिए ।उनले यसअघि तोकिएको प्रवेश क्षेत्रमार्फत् नभई अन्य मार्गबाट भारत प्रवेश गरेको र उनीसँग आवश्यक कागजात नभएका कारण उनको भारत प्रवेश अवैध रहेको भारतीय अधिकारीको भनाइ छ ।

उनी आइतबार वा सोमबार मालदिभ्स पुगिसक्ने मालदिभ्सका अधिकारीहरुको आँकलन छ । उनीविरुद्ध सन् २०१६ मा मालदिभ्सको अदालतले तत्कालिन राष्ट्रपति अब्दुल्लाह यामिनको हत्याको षड्यन्त्र रचेको अभियोगमा १५ वर्षको जेलसजाय सुनाइएको थियो । त्योबाहेक भ्रष्टाचार र आतंकवादी गतिविधिको अभियोगमा समेत गरी उनलाई कुल ३३ वर्षको जेलसजाय तोकिएको छ । उनी माल्दिभ्समा नजरबन्दमा थिए ।

यामिनमाथि लागेको सम्पत्ति शुद्धीकरणको अभियोगमा उनी महत्वपूर्ण साक्षी समेत हुन् । उनलाई कुनै समय मालदिभ्सको प्रमुख नेताको रुपमा उदय हुनसक्ने नेताको रुपमा समेत हेरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here