पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन


११ असार २०८२, बुधबार ११:०८ मा प्रकाशित

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ ।

कार्यालयले चालू आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६.४३ प्रतिशत रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रकम प्राप्त भएको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा ११.२३ प्रतिशत छ ।

त्यसैगरी फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ । मेसिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड सङ्कलन गरेको छ । इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।

चालू आवकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब ६ करोड राजस्व सङ्कलन भएको छ । सोही अवधिमा सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, शृङ्गारका सामान आयातबाट दुई अर्ब ५२ करोड, प्लास्टिकका कच्चापदार्थ आयातबाट रु दुई अर्ब ३२ करोड तथा अन्य लुब्रिकेटिङ आयलको आयातबाट दुई अर्ब १९ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here