काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरी लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ ।
आईतवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि संसद् जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताउनु भयो । उहाँले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने बताउनु भयो । उहाँले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने बताउनु भयो । उहाँले सङ्घीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नल्याइएको जिकिर गर्नुभयो ।
उहाँले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताउनु भयो ।