काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण भएको काठमाडौं उपत्यकाको पहिलो ‘ओभरपास’को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक समारोहबीच गरेका छन् । चक्रपथको सवारी चाप व्यवस्थापन गर्न निर्मित यो ओभरपास चक्रपथ विस्तार आयोजनाअन्तर्गत कोटेश्वर–कलङ्की खण्डको ट्राफिक जाम हुने तीन प्रमुख क्षेत्रमध्ये एक हो ।
यो ओभरपास ६ मिटर उचाइ र ४५५ मिटर लम्बाइको छ, जसमा ६ मिटर ग्राउन्ड क्लियरेन्स र सवारी आवागमनका लागि दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटरको र्याम्प निर्माण गरिएको छ ।
निर्माण कार्य २०७८ फागुन १२ गतेदेखि सुरु भएको थियो । आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा ठेक्का पाएको यो आयोजना २०८० फागुन १२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, पटक–पटक म्याद थप हुँदै २०८१ पुस ८ र पछि चैत्र मसान्तसम्म पुगेको थियो । ४० मिटर खण्डको पुनर्निर्माण र वर्षाका कारण थप एक महिना ढिलाइ भए पनि २०८२ जेठभित्र ओभरपास निर्माण सम्पन्न भएको छ । लेन सेपरेटर, लाइनिङ, र ट्राफिक बत्ती जडानलगायतका काम पूरा भएपछि यो सवारी सञ्चालनका लागि खुला गरिएको हो ।
यो ओभरपासले चक्रपथको सातदोबाटो–कोटेश्वर र मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।