काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँध्नुभएको आरोप लगाउनुभएको छ ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताउनु भयो । मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गर्नुभएको र अदालतले न्याय दिनेमा विश्वस्त रहनुभएको बताउनु भयो ।
अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको बताउनु भयो । कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताउनु भयो ।
अध्यक्ष दाहालले नीतिगत निर्णयमा अख्तियारले छानविन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानविनको दायराभित्र आउने बताउनु भयो । उहाँले नीतिगत र सैद्धान्तिक रुपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक रहेको बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।