वातावरण दिवसमा बाहुनडाँगीमा वृक्षारोपणसहित विरुवा वितरण


२३ जेष्ठ २०८२, बिहीबार १८:२१ मा प्रकाशित

मेचीनगर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ । ‘स्वच्छ सास फेर्न हरियाली बढाऔँ प्लास्टिक प्रदूषण न्यूनिकरणमा हाम्रो दायित्व’ मुल नाराका साथ बुधबार नगरपालिकाले बाहुनडाँगीमा आयोजना गरेको विश्व वातावरण दिवसको अवसरमा एक हजार दुई सय विरुवा वितरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले विरुवा रोपेर उद्घाटन गरेकी थिइन् ।

उनले वातावरण स्वच्छ वा विषादी बनाउन व्यक्ति र समुदायको हातमा निर्भर हुने बताइन् । ‘आफुले जस्तो बनाए, वातावरण त्यस्तै बनिने हो’, उप्रेतीले भनिन्–‘प्लास्टिक मुक्त नगर बनाउन धेरै अगाडिदेखिको प्रयास हो । सीप विकासको भवन बनिएको छ ।

त्यहाँबाट प्लास्टिकको झोलाको विकल्पका लागि कपडाको झोला उत्पादन गरिने छ । विरुवा रोपेर त्यसको संरक्षणका लागि वातावरण प्रदूषण मुक्त बनाउन सबै लागि पर्नु पर्ने उनको भनाई छ । कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ संसारभरि प्लास्टिक जन्य पदार्थको प्रयोगका कारण वन विनास, वातावरण प्रदूषणले भयावह रुप लिदै गरेको बताए ।


उनले हात्ती समस्या मात्र होइन यसलाई पर्या पर्यटनसँग जोड्नु पर्ने उनको बुझाई छ । प्रमुख अतिथि उपप्रमुख उप्रेती, प्रमुख प्रशासकी अधिकृत अग्निप्रसाद अधिकारी लगायतले विरुवा रोपे भने अन्य विरुवाहरु सहभागी सबैलाई वितरण गरिएको थियो । वितरण गरिएका विरुवाहरुमा सरिफा, चीउरी, अम्बक, वयर, जडुल, गुलमोर लगायतका फलफुल र अन्य प्रजातिका विरुवा थिए ।


सोही अवसरमा बालसुवोधिनी, सरस्वती मावि, विद्या विकास एकेडेमी, पूर्वाञ्चल बोडिङ स्कुल, लगायतका विद्यार्थीहरुले चित्रकला, लुङ्गी दौड, नित्य, बाँसुरीबाट गीत, फुटबल, साइकल रेस लगायतका प्रतियोगितामा समेत भाग लिएका थिए । त्यस्तै आरआरटी र नगरपालिकाको पशु तथा कृषि सेवा शाखाले कुकुरलाई टल्किने बेल्ट समेत लगाइदिएका छन् ।


कार्यक्रममा हात्ती खेदाउँदा लडेर घाइते भएका नगरप्रहरी प्रकाश बानियाँलाई पनि सम्मान गरिएको थियो । नगरपालिकाले आयोजना गरेको कार्यक्रमको सहआयोजकका रुपमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल रहेका थिए ।


कार्यक्रमको स्वागत गर्दै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले वर्षौँदेखि हात्तीले जनताको धनजनको क्षति गर्यो, बाली परिवर्तन गर्नु पर्यो, यता हात्तीलाई पनि करेन्ट लगाइयो, गोली हानेर मारियो अब त्यसरी हुँदैन हात्तीमैत्री वातावरण बनाएर काम गर्नु पर्ने बताए ।


नगरपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवम् मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नम्बर ४ कका वडा सदस्य पवन वराइलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here