चितवन । चितवनमा एसपी र सिडियोको नाममा महिनादिन देखि असुली आतंक मच्चाउदै हिंडेका एक जनालाई चितवन प्रहरीले बिहीबार दिउँसो सफलतापुर्वक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं (एसपी) दानबहादुर मल्लका अनुसार चितवनको भरतपुरमा रहेकोे सन्देश फाउण्डेसन एवं पुनःस्थापन केन्द्रका सञ्चालक गौरव बाबु ढकाललाई एसपी सिडियोको नाममा अशुली आतंक मच्चाएको आरोपमा प्रहरीले हिजो बिहीबार दिउँसो ३ बजे काठमाडौंंको न्युरोडबाट पक्राउ गर्न सफल भएको हो । काठमाडौंंबाट पक्राउ परेका ढकाललाई हिजो बिहीबार राती नै चितवन ल्याइएको छ ।
आरोपित ढकालले केही समयदेखि आफूलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सचिवालयमा काम गर्ने दावी गर्दै यहाँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेत र प्रहरी उपरीक्षक दानबहादुर मल्ल समेतको नाममा झन्डै २० लाख रुपैयाँ ठगी गरेका थिए । समग्र प्रहरी संगठनकै नाम बदनाम गराउने उद्देश्यले अशुली आतंक मच्चाउदै हिंडेको भन्ने सूचना प्राप्त भएपछि उनीमाथि चितवन प्रहरीले विशेष निगरानी गर्दै आएकोमा उनलाई बिहीबार न्युरोडबाट पक्राउ गर्न प्रहरी सफल भएको हो ।
केही दिनदेखि सूक्ष्म रूपमा अनुसन्धान र निगरानी गर्दै आएको प्रहरीले पीडितलाई धम्काएर २० लाख रुपैयाँ माग गरेकोमा १० लाख रुपैयाँ भुक्तानी लिएको चेक समेत प्रहरीले बरामद गर्न सफल भएको छ । अन्य १० लाख रुपैयाँ दिन बारम्बार पीडितलाई धम्काउदै हिंडेपछि उनलाई विशेष सुचनाका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका ढकाल मिटर व्याज कारोबारमा पनि संम्लग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनले आफ्नै कार्यालयमा विभिन्न व्यक्तिहरुलाई भेला गराई चेक बाउन्स र लेनदेनको मुद्धा, अवैध ढुकुटी र मिटरव्याजको काम गर्दैआएको प्रहरीले दावी गरेको छ ।
यता, चितवन प्रहरी प्रमुखको नाम नै बेचेर केही दिन देखी जिल्लामा व्यापक मात्रामा अशुली आतंक र ठगी मच्चिएकोले त्यस्तो कुनै भ्रममा नपर्न एसपी दानबहादुर मल्लले सबैलाई आग्रह गरेका छन् । साथै, यसअघि पनि एसपी मल्लको नाममा ठगी गर्ने र अशुली धन्दा मच्चाउने भरतपुर महानगरपालिका ४ बस्ने बर्ष १९ को सागर क्षेत्री र बर्ष ३४ को दीपेन्द्र पण्डितलाई समेत लागूऔषध प्रयोगकर्ता छुटाइदिने नाममा झन्डै ८ लाख रुपैयाँ उठाएको आरोपमा उनलाई गत, आइतबार चितवनबाटै प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
यस्तै, प्रहरी प्रमुख मल्लले एक जना पत्रकार समेतले पीडकसंँग जवरजस्ती तीन लाख रुपैयाँ अशुलिरहेको भन्ने बुझिन आएकोले उनलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको र सत्यतथ्य बुझ्ने प्रयास भइरहेको समेत बताउनुभएको छ । उता, पछिल्लोपटक चितवनमा प्रहरी प्रमुख एसपी मल्लको नाममा अशुली आतंक मच्चाउने गिरोहहरु सक्रिय हुँदै गएपछि चितवन प्रहरी सतर्क भएको छ ।
प्रहरी प्रमुख भएर आएको दुई महिनाभित्रै जिल्लामा फरार अपराधी पक्राउ, जुवा ऐन नियन्त्रण, यौनजन्य गतिविधि नियन्त्रण, अबैध क्रियाक्रलाप नियन्त्रण, लागूऔषध नियन्त्रण, र गुण्डागर्दी नियन्त्रणमा लिएपछि अपराधीहरुको निदहराम नै भएको थियो ।
शान्त र सुरक्षित चितवन बनाउने उद्देश्यले जिल्लामा प्रहरी निरीक्षकको कमान्डमा क्लिन चितवन नाम गठन गरेर २४ सै घण्टा प्रहरीलाई सुरक्षामा खटाउदै आएपछी आक्रन्त र आजित केही गुण्डागर्दीमा संलग्न ब्यक्तिहरुले उनको नाम नै बेचेर पैसा उठाउदै हिंडेका छन् । यद्यपि, उनी स्वयंमले भने घुस खाँदैनन तर, उनको नाममा पैसा उठाउने गिरोहहरु भने जिल्लामा धेरै नै सक्रिय भएको पाइएकोले सचेत र सजग हुन र कहिँ कतै आफ्नु नाममा कसैले पनि पैसा मागेमा वा धम्काएमा तत्कालै प्रहरीलाई जानकारी गराउन समेत चितवन प्रहरीले सबैलाई आग्रह गरेको छ ।





