बिहीवार बिहानदेखि पाकिस्तानका धेरै स्थानहरूलाई लक्षित गरी भारतले गरेको श्रृंखलावद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ । चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीवार जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव शुरु भएदेखि इलेक्ट्रोनिक काउन्टरमेजर र काइनेटिक फायरको संयोजन प्रयोग गरेर २५ वटा हारोप ड्रोनहरू खसालिएको छ ।
यसअघि मिडिया ब्रीफिंगमा आइएसपिआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पूर्वी पञ्जाव प्रान्तको राजधानी लाहोर नजिकैको सैन्य प्रतिष्ठानमा एउटा ड्रोनले आंशिक रूपमा प्रहार गरेको बताउनुभएको थियो ।
जसमा चार जना कर्मचारी घाइते भएका थिए र उपकरणमा सामान्य क्षति पुगेको थियो । एउटा छुट्टै घटनामा सिन्ध प्रान्तको मियानो क्षेत्रमा एक जना नागरिकको मृत्यु भएको छ र अर्का एक जना घाइते भएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।