काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प भएको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेको बताउनु भयो ।
उहाँले नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् भन्नका लागि रोग लाग्ने परिस्थिति र अवस्था आउनै नदिने अवस्था बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले रोग लाग्नै नदिनको लागि सन्तुलित खानपिन पनि एउटा महत्वपूर्ण विषय रहेको बताउनु भयो ।
उहाँले रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्नेकुराको खोजि गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आयुर्वेदिक उपचार धेरै राम्रो हुने भएपनि पछिल्लो समय कम हुँदै गएको भन्दै गुनासो गर्नुभयो । उहाँले आयुर्वेदिक औषधि विज्ञानको प्रक्रियालाई विकास गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले कुष्ठरोगलाई नलुकाई समयमै उपचार गर्न आग्रह गर्नुभयो ।