सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल


१८ बैशाख २०८२, बिहीबार १६:०८ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पार्नुभएको छ ।


१ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो स्पष्ट पार्नुभएको हो । अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताउनु भयो ।

उहाँले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष दाहालले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गर्नुभयो ।

उहाँले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको धारणा राख्नुभयो । 

अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको बताउनु भयो । उहाँले माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दा समेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गर्नुभयो । उहाँले नयाँ आन्दोलन, नयाँ अभियान र नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको दोहो¥याउँदै आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहाले मुलुकमा पछिल्लो समय राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको बताउँदै उक्त दुःशाहसलाई रोक्ने ठूलो जिम्मेवारी आफूहरूको काँधमा आएको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here