काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको हो । निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन् ।
मंगलवारको समितिको बैठकमा आफ्ना मागहरु सम्बोधन गर्दै ७२ घण्टाभित्र विधेयक पास गर्न समितिलाई अल्टिमेटम दिएका छन् । विधेयकलाई टुंग्याउन दबाब दिन तथा वातावरण नबिथोल्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का सांसद रघुजी पन्तले कर्मचारीको कुलिङ पिरियड नै नराख्न प्रश्ताव गर्नुभएको छ । उहाँले कुलिङ पिरियडको विषयमा अल्पमत र बहुमत कायमै रहेको कारण कुलिङ पिरियड नराख्न सुझाव दिनुभएको हो ।
कुलिङ पिरियडको विषयले विधेयक नै अल्झाएको भन्दै यस विषयमा विधेयक अल्झाउन नहुने बताउनु भयो । उहाँले पार्टीका फरक फरक विचार भएपनि विधेयकमा साझा सहमति खोज्न आवश्यक रहेको बताउनु भयो ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदीय उपसमितिका तीन वटा बुँदामा आफ्नो असहमति रहेको बताउनु भयो । उहाँले कुलिङ पिरियड, अतिरिक्त सचिव, भेटेनरीको तहको विषयमा असहमति राख्नुभयो ।
उहाँले कर्मचारीको कुलिङ पिरियड कम्तिमा पनि दुई वर्ष हुनुपर्ने बताउनु भयो । सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद राख्न नहुने उहाँको भनाइ छ । भेटेरेनरीमा ८ औं तह राख्न आवश्यक समेत पाण्डेले बताउनु भयो ।
संघीय निजामति विधेयकको अन्तिम चरण पुगेको छ । अब सहमति हुन नसकेका विषयमा शिर्ष नेतृत्वबीच छलफल गरेर विधेयक टुंग्याउने समितिको तयारी छ ।